अविरल वर्षाले ३४ राजमार्गमा पहिरो, यातायात पुनः सञ्चालन गर्न २५ अर्ब लागतको अनुमान


काठमाडौँ । असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ। हालसम्म ७७४ स्थानमा पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार अझै ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा पहिरोका कारण यातायात अवरुद्ध छ। यसलाई हटाउन विभागीय तथा भाडाका यन्त्र उपकारण र जनशक्ति प्रयोग गरी निरन्तर प्रयास भइरहेको मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । उनले भने, “पहिरो हटाउनेबाहेक, उपयुक्त स्थानमा कटिङ, फिलिङ, टेवा पर्खाल निर्माण, ह्युम पाइप राख्ने तथा अस्थायी बेलिब्रिज स्थापना गर्नुपर्ने अवस्था रहेको छ।”

मन्त्रालयले दिएको प्रारम्भिक विवरण अनुसार, अस्थायी रूपमा यातायात सञ्चालन गर्न साढे दुई देखि तीन अर्ब रुपैयाँको लागत लाग्ने अनुमान गरिएको छ। साथै, स्थायी रूपमा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

सडक तथा पुलहरूको क्षतिका विस्तृत विवरणहरू संकलन भइरहेको र थप विवरण सार्वजनिक हुने मन्त्रालयले जानकारी दिएको छ।