सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा तीन राजनीतिक दलले जनाए सहमत


काठमाडाैँ । शिर्ष तीन राजनीतिक दलहरू सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन् ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष तीन राजनीतिक दलका नेताहरुको बैठकले सो सहमति गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकाे बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, नेकपा(माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थियाे ।

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) शक्तिबहादुर बस्नेतले बताए । छलफल शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित रहेको बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शिर्ष तीन दलका नेताहरू सहमत भएको बताए ।

उनले एक÷दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रूपमा सुरू हुने बताए । सर्च कमिटीले पूर्णता प्राप्त गरेको निश्चित समयभित्र आयोग गठन टुंगिनुपर्ने कानूनी व्यवस्थाअनुसार निर्धारित समयभित्रै आयोगले पूर्णता प्राप्त गर्ने बताए ।