महिला स्वास्थ्य स्वयंसेविकाले कार्तिक १५ देखि सार्वजनिक यातायात चढेको पैसा तिर्न नपर्ने


काठमाडाैँ । महिला स्वास्थ्य स्वयंसेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबिच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरे । सम्झौता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताए । उनले यातायातको सुविधा निःशुल्क रुपमा उपलब्ध गराउनसके मात्रै पनि धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे । उनले सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै  यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातमा स्वास्थ्य स्वयंसेवीहरूलाई निःशुल्क यातायात चढ्न दिँदा यातायात व्यवसायीहरूको शिर उँचो भएको बताए । उनले १२ खर्ब बढी लगानी भएको सार्वजनिक यातायातमा १५ लाख प्रत्यक्ष श्रमीकले रोजगार पाएको बताए । 

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरका महिला स्वास्थ्य स्वयंसेविकाको लागि आफ्नो जिल्ला जिल्लामा निःशुल्क रुपमा यातायात चढ्न पाउने कुराको सम्झौता हुँदा खुशी लागेको बताइन्। उनले लामो समयपछि महिला स्वयंसेविकाहरुलाई बल्ल जग खनेर बसोवास शुरु भएको जस्तो महशुस भएको बताइन्।

महिला स्वास्थ्य स्वयंसेविकालाई ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले जीविकोपार्जन गर्नसक्ने वातावरण बनाइदिन मन्त्री पौडेलसँग आग्रह गरिन् । उनले महिला स्वयंसेविकालाई खटिएको दिनको दुई हजार रुपैयाँ दिने व्यवस्था गर्न मन्त्री पौडेलसँग माग गरिन् । महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायातको सेवा कार्तिक १५ गतेबाट सुरू हुनेछ । सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने उल्लेख गरेको छ ।