कार्तिक मसान्तभित्र अस्थायी आवास बनाइसक्ने, स्थायी आवास निर्माणको प्रक्रिया तत्काल अघि बढाउने


काठमाडाैँ । जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले अस्थायी आवास निर्माणको काम कार्तिक मसान्तभित्र गरिसक्ने निर्णय गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले अस्थायी आवास निर्माणको काम कार्तिक मसान्तभित्र गरिसक्ने निर्णय गरेको हो ।

पुनःनिर्माण, पुनःस्थापनको कार्य, अस्थायी आवास बनाउने विषयमा आजको बैठकले सबै कामहरु समयसीमा तोकेर नै अघि बढाउने निर्णय भएको पनि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले बताए । उनकाअनुसार बैठकले कार्यकारी समितिको बैठकबाट सिफारिस भएको ७१ वटा संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय अनुमोदन गरेको छ ।

त्यस्तै ७१ वटा स्थानीय तहलाई अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी तीन समूहमा छुट्याइ अति प्रभावितलाई एक करोड, प्रभावितलाई ७५ लाख र सामान्य प्रभावितलाई ५० लाख दिने कार्यकारी समितिले गरेको सिफारिस अनुमोदन गरेको छ । बैठकले अत्यावश्यक सेवाहरु १५ दिनभित्रमा नै सम्पन्न गरिसक्नुपर्ने, अस्थायी आवासको निर्माणको काम कार्तिक मसान्तभित्र गरिसक्नुपर्ने निर्णय भएको छ । डिटेल ड्यामेज एसेस्मेण्ट (डिडिए) पनि तत्काल नै गरेर स्थायी आवास निर्माणको प्रक्रिया अघि बढाउने निर्णय भएको छ । 

बैठकले अब विपद् प्राधिकरणसँग स्थानीय तह, प्रदेश सरकार र सम्पूर्ण निकायहले समन्वय गर्नुपर्ने, २०८० को कार्तिकपछिको १३ औं राष्ट्रिय परिषद्को बैठक पछि  भएको विपद्जन्य घटना र त्यसपछि पुनःनिर्माण, पुनःस्थापनका सबै विषयलाई समेट्नुपर्ने र त्यसमा स्थानीय तहले, प्रदेश र संघ सरकारले मिलेर काम गर्ने निर्णय निर्णय भएको छ ।

बैठकले विपद्बाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र परिवारजनमा समवेदना व्यक्त गर्ने साथै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने, खोज उद्धार र राहतका सन्दर्भमा जति पनि सहभागी हुनुभयो सबैलाई धन्यवाद दिने निर्णय गरेको छ।