सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीतिहरू ल्याउँदैछौँः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताएका छन् ।

आइतवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले शहरी विकास मन्त्रालयले सय दिनमा कुनैपनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरू भएका कामहरूलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे ।

उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि शहरहरू व्यवस्थित गर्ने काममा आफूहरू लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताए । उनले सरकारले गरेका राम्रा कामहरू सञ्चारमाध्यमहरूले प्रशारण गर्न कन्जुस्याँई गर्न नहुने उल्लेख गरे। 

उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाए ।