बिमा गर्न बाध्य बनाउने गरी कानूनी प्रबन्ध गर्दैछौँः अध्यक्ष सिलवाल


काठमाडाैँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा गर्न बाध्य बनाउने गरी कानूनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् ।

नेपाल बिमा प्राधिकरणले मंगलवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रहरूमा पुगेको र सो क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण बिमा नगरेको जानकारी पाएको बताएका हुन् । उनले अहिले प्राधिकरणले सरकारसँग बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रवन्ध गर्न दबाब दिइरहेको बताए ।

उनले नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा विमित स्वयंले पाउने बताए । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिआइआइ २०२४) आजबाट काठमाडौँमा सुरू भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल बिमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरैन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औं संस्करण आयोजना गरिएको बताइएको छ ।

कार्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्युन आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । जलवायु जोखिम बीमा, लघुबीमा डिजिटल प्रविधि अवलम्वन र समावेशी बिमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरुबीच छलफल हुने बताइएको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था, बीमा क्षेत्रका विज्ञहरु सहभागी छन् ।