दुबईबाट ल्याउन खोजिएको १९२ केजी रोज वाटरमा अशुद्धता भेटिएपछि आयात अस्वीकृत


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुबईबाट ल्याउन खोजिएको १९२ केजी रोज वाटरको नमूनालाई आयात गर्न अस्वीकृति दिएको छ।

कि फुड्स इन्टरनेशनल प्रा. लि., काठमाडौँले व्यावसायिक प्रयोजनका लागि दुबईबाट उक्त रोज वाटर नेपाल ल्याउन प्रयास गरेको थियो। तर, बबरमहल स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति भेटिएपछि उक्त रोज वाटरलाई आयात गर्न अस्वीकृति दिइएको हो।

विभागका अनुसार, सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा नाका हुँदै आएको रोज वाटरलाई बिरगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परीक्षण गरेको थियो। परीक्षणको नतिजा अनुसार रोज वाटरमा अशुद्धता भेटिएकाले विभागले उक्त रोज वाटरको प्रवेश अनुमति अस्वीकृत गर्दै भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको छ।

नेपाल सरकारले २०८१ साल श्रावण १९ गतेदेखि लागू गरेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार, खाद्य पदार्थ पैठारी गर्नुअघि अनिवार्य रूपमा विभागबाट स्वीकृति लिनु पर्ने प्रावधान छ। विभागले सो प्रावधानको पालना नगरेमा कानुनी कारवाही हुने चेतावनी दिएको छ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार, खाद्य व्यवसायीले खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न विभागबाट स्वीकृति लिई मात्र आयात प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ।