प्राधिकरणले काट्यो ३४ ओटा उद्योगको विजुली


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३४ ओटा उद्योगको विजुली काटेको छ । डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्न प्राधिकरणले ३ महिनाको समय दिएको र सो समयमा पनि बक्यौता नतिरेकोले ३४ ओटा उद्योगको विजुली काटेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुको लाइन नकाट्ने भए मन्त्रिपरिषद्ले लिखित निर्णय दिनुपर्ने बताएका थिए । तर मन्त्रिपरिषद्ले लिखित निर्णय नदिएपछि प्राधिकरणले विहीबार रातीदेखि उद्योगहरु विजुली काटिदिएको हो ।

“ग्राहकहरुको बक्यौता असुल गर्ने विद्युत् विनियमावली, महसुल विनियमावलीले विद्युत् प्राधिकरणलाई अधिकार प्रत्यायोजन गरेको छ । नकाट्ने हो भने सरकारबाट निर्देशन आउँथ्यो निर्देशन नआएको खण्डमा कानुन अनुसार गर्नु आशय हुन्छ,” घोषले भने ।