काठमाडाैँ । होन्डाले भारतीय बजारबाट प्राविधिक त्रुटिका कारण ९० हजारभन्दा बढी सवारी साधन फिर्ता बोलाएको छ।
इन्धन पम्पमा देखिएको गडबडीले इन्जिन बन्द हुने वा स्टार्ट गर्न गाह्रो हुने समस्या देखिएपछि कम्पनीले यो निर्णय लिएको हो। यो रिकलमा अमेज, ब्रियो, बिआरभी, सिटी, ज्याज, र डब्लुआरभी लगायतका २०१७ देखि २०१८ सम्म निर्मित मोडलका गाडीहरू समावेश छन्।
जापानी कम्पनी होन्डाले भारतीय बजारमा बेचिएका ९२ हजार ६७२ गाडीहरू फिर्ता बोलाएको हो, जसमा यसअघि इन्धन पम्प बदलिएका २ हजार २०४ सवारीसाधन पनि समावेश छन्। कम्पनीका अनुसार खराब इम्पेलर भएका इन्धन पम्पका कारण यी गाडीमा समस्या आउनसक्ने बताइएको छ।
ग्राहकलाई यो समस्याबारे सूचना दिन नोभेम्बर ५ देखि चरणबद्ध रूपमा सम्पर्क गरिने कम्पनीले जनाएकाे छ । होन्डाले मर्मतका लागि कुनै शुल्क नलाग्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्