प्राधिकरणको असक्षमता ढाकछोप गर्न उद्योगीमाथि अन्यायपूर्ण व्यवहार गरेको गुनासो


काठमाडाैँ । पीडित तथा प्रताडित उद्योगीहरूको समूहले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले उद्योग र उद्योगीहरूलाई निसाना बनाएको आरोप लगाएका छन्। उद्योगीहरूका अनुसार गत साउन ९ गते प्राधिकरणले पूर्वाग्रहपूर्ण रूपमा देशभरका ठूला उद्योगहरूमा बिजुली आपूर्ति बन्द गराएर अन्यायपूर्ण व्यवहार देखाएको छ।

उद्योगीहरूको समूहले प्राधिकरणमा भएको फर्जी नाफा देखाउने प्रवृत्ति, खरिद प्रक्रियामा भएको अनियमितता, र पूर्वाधार निर्माणमा गरिएका कमजोरीहरू लुकाउन ध्यान मोड्न उद्योगीमाथि योजनाबद्ध दबाब सिर्जना गरेको गुनासो गरेको छ।

उद्योगीहरूले नियमित रूपमा विद्युत् महसुल तिर्दै आएका छन्, तर प्राधिकरणले उद्योगीहरूबारे भ्रम फैलाउने गतिविधि गरिरहेको आरोप छ। उद्योगीहरू थप प्रिमियम महसुल तिर्न तयार रहेको जनाउँदा पनि प्राधिकरणले नियमन आयोगको निर्देशनका बाबजुद अन्यायपूर्ण निर्णय गरिरहेको छ।

व्यावसायिक वातावरण बिगार्न र करदातालाई निराशा दिलाउने यस किसिमका गतिविधिलाई रोक्न सरकारलाई आग्रह गर्दै उद्योगी समूहले प्राधिकरणकाे नेतृत्वले पारदर्शी र व्यावसायिक सिद्धान्तहरूमा आधारित काम गर्नुपर्ने बताएको छ।