६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, ग्राहकको छैन चहलपहल


काठमाडौं । हरेक वर्षझैं यसपालिको तिहार पनि विद्युतीय सामग्रीका व्यवसायीहरूका लागि महत्वपूर्ण समय हो। तिहारको अवसरमा झिलिमिली बत्ती र अन्य विद्युतीय सामग्रीको व्यापार बढ्ने अपेक्षामा रहेका व्यवसायीहरूले यस वर्ष भने माग घटेको र व्यापारमा खासै चहलपहल नदेखिएको बताएका छन्।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाका अनुसार यसपालि ग्राहकहरूको माग कम छ, जसले गर्दा धेरैले पुरानो स्टकबाटै सामान बिक्री गर्ने योजना बनाएका छन्। “कोलकताबाट आउने सामानहरू वीरगञ्ज नाकाबाट आए पनि चीनबाट तातोपानी र केरुङ नाका हुँदै आउने सामग्रीको ढुवानीमा ढिलाइ भएको छ,” देवकोटाले भने। महासंघको प्रारम्भिक अनुमानमा तिहारमा ३० करोडसम्मको सामान बिक्री हुने अपेक्षा भए पनि गत वर्ष ५०/६० करोडको कारोबार भएको थियो।

सुन्धारामा विद्युतीय सामग्रीको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले सहकारीमा ठगीका कारण धेरै ग्राहकसँग पैसा नभएकाले बजारमा माग कम रहेको बताउँदै, “अन्तिम समयमा व्यापार हुने आशा छ तर स्थिति अझै उत्साहजनक छैन,” भने।

सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठले प्रविधिको प्रयोगमा सजिलो सामग्रीहरूको माग बढेको भए पनि युवा जनशक्ति विदेशमा भएकाले व्यापार घटेको बताइन्। “नेपालमा अहिले ज्येष्ठ नागरिक र बालबालिकामात्रै रहेका छन्, युवाहरूको बाहिरिने क्रमले बजारमा नयाँ इनोभेसनको माग पनि प्रभावित भएको छ,” श्रेष्ठले भनिन्।

अन्य व्यवसायीहरूजस्तै, व्यवसायी अमित केडियाले पनि व्यापार ६०–७० प्रतिशतले घटेको जनाउँदै, “देशको आर्थिक स्थितिले पनि यसमा असर गरेको छ,” भने। उनले सरकारबाट व्यवसायीक क्षेत्रलाई बचाउने पहलको अपेक्षा गरेका छन्। व्यवसायी राज नेपालले पनि व्यापार नभएर व्यवसायीहरू चिन्तामा परेको र चहलपहल गर्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।

अन्तिम दिनसम्म व्यापारमा सुधार हुने आशा राख्दै व्यवसायीहरूले तिहारको यस मौसमलाई चुनौतीपूर्ण अनुभव गरिरहेका छन्। बजारमा चहलपहलको कमी र आर्थिक अभावले गर्दा विद्युतीय सामग्रीको व्यापारमा मन्दी देखिएको उनीहरूको भनाइ छ।