स्वदेशी फूलको खपत बढाउँदै तिहारको रौनक, याे वर्ष स्वदेशी फूलमात्र बजारमा


काठमाडौँ । फूलैफूलको पर्व तिहार आजदेखि सुरू भएको छ । दसैं सकिएसँगै घर–घरमा फूलेका सयपत्री र मखमलीले तिहारको आगमनको संकेत गरिरहेको आभास हुन्छ। काग, कुकुर, गाई, र दाजु–भाइको पूजा अनि घर सजावटका लागि सयपत्री र मखमली नै पहिलो रोजाइमा पर्ने भएकाले तिहार फूलैफूलकाे पर्वकाे रूपमा पनि चिनिन्छ ।

तिहार सुरूभएसँगै यतिबेला बजारमा फूल मालामा व्यापारीको चलहलपहल बढ्दो देखिएको छ । गत कार्तिक ८ गतेदेखि ११ गतेसम्म ललितपुरको जावलाखेल मैदानमा फ्लोरिकल्चर एसोसिएसन नेपालले आयाेजना गरेकाे गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीले समेत पछिल्लाे समय नेपाली बजारमा फूलकाे माग र उत्पादन बढेकाे विषयलाई प्रष्ट देखाएकाे छ ।

केही समय पहिला पूजाआजाका लागि तथा घरायसी सजावटका लागि मात्रा प्रयोग हुने फूल हाल व्यावसायिक रूपमा नै खेती बढाउँदा यसको माग र उत्पादन बढ्दो छ ।

जसको फलस्वरुप यस वर्षको तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने नेपाल फ्लोरिकल्चर एशोसियसनकाे अनुमान छ ।ललितपुरको जावलाखेल मैदानमा चलेको १७ औं गोदावरी पुष्प मेलामा ४३ हजार ६ सयले अवलोकन गर्दा १ करोड १८ लाखको कारोबार भएको उसले जनाएको छ ।

आयातको हल्ला

गत असोज १० गतेदेखि तीन दिनसम्म मुलुकका अधिकांश क्षेत्रमा परेको अविरल वर्षाले समग्र कृषि क्षेत्रमा ६ अर्बभन्दा बढीको क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सोही वर्षका कारण पुष्प क्षेत्रमा मात्रै १२ करोड रुपैयाँजतिको क्षति पुगेको फ्लोरीकल्चर एसोसिएशन अफ नेपालका निर्वतमान अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

जसमा सबैभन्दा बढी क्षति ललितपुरमा भएको छ । सो क्षतिले गर्दा तिहारमा केही मात्रामा बढी माला आयात गर्नुपर्ने उनको आकलन छ। उनले भने,” नेपालभर तिहार र छठमा ४५ लाख ओटा मालाको आवश्यकता पर्नेछ । जुन काठमाडौँमा ६० प्रतिशत र अन्य ठाउँमा ४० प्रतिशतको माग हुने गर्छ तर अविरल वर्षका कारणले गर्दा यो वर्ष अघिल्लोपटक भन्दा केही बढी आयात हुने देखिन्छ ।”

तिहारमा विशेषता सयपत्री, मखमली, गोदावरी लगायत फूलको माग हुने गरेको छ । तर यो वर्ष बाढी पहिरोका कारणले काठमाडौँ उपत्यका लगायत नजिकका जिल्लामा हुने फूल खेतीमा क्षति पुगेकाले तिहारमा फूलको आयात हुने पुष व्यवसायी दिलीप बादेकाे समेत आकलन छ ।

बाडेका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो भने यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिक्स माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार व्यावसायिक रूपमा खेती गरिएको फूलको माला खपत हुनेछ । उनका अनुसार यस आँकडामा घरायसी प्रयोजनका लागि गरिएको खेतीको गणना गरिएको छैन ।

उनले खुलमखुला आयात गर्न नपाइने अवस्थामा अवैध आयात नरोकिएको प्रति चिन्ता व्यक्त गरे । जसकारण, पूर्वानुमान गरिएअनुरूप ३७.५ प्रतिशत फूल आयातका लागि सम्बन्धित निकायमा पत्राचार गरिए पनि आयात भने अत्यधिक भएको छ । अर्थात् ६० लाख फूल आयात भएको छ ।

स्थानीय तहहरूकाे सक्रियता बढ्दै

तिहार पर्वलाई मौलिक बनाउन तथा स्थानीय स्तरमा उत्पादित फूलहरूको प्रयोग बढाउन देशका आधा दर्जन स्थानीय तहहरूले प्लास्टिकका फूलमाला ब्रिक्री वितरणमा रोक लगाएका छन् । अहिले बजारभरि प्रतिबन्धित प्लास्टिकको फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नै नियमन गर्न थालेका हुन् ।

यसरी अग्रसरता देखाउनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिका, मकावानपुरकाे थाहा नगरपालिका, काठमाडौँ महानगरपालिका, पाल्पा रामपुर नगरपालिका, कैलाली धनगढी उपमहानगरपालिका लगायतका अन्य स्थानीय तहले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएका हुन् ।

चाडपर्वलाई लक्षित गरेर नगरले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ। स्थानीय किसानले उत्पादन गरेको फुलको माग बढेको हो। काठमाडाैँ महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध लगाउँदै महानगरका ४६ स्थानबाट स्वदेशी फूल बिक्रीको व्यवस्था गरेको छ।

फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए। “स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नुहुनेछ”,मेयर शाहले फेसबुकमार्फत भनेका छन्।

व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउन समेत मेयर शाहले अनुरोध गरेका छन्। महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो।

महानगरले व्यवस्था गरेका ४६ स्थान :


क्र.सं.
स्थानक्षेत्र
आरती पार्टी प्यालेसमाछा पोखरी
बुद्ध मलमाछा पोखरी
बालाजु भाटभटेनीमाछा पोखरी
भ्याली कोल्ड स्टोरबालाजु
सामुदायिक भवनबालाजु
धर्म चक्र पार्कस्वयम्भू
स्वयम्भू मार्टस्वयम्भू
भाटभटेनीकलंकी
कलंकी ट्रेड सेन्टरकलंकी
१०एस. एन. एस.कलंकी
११एन. बि. टि. सि.कलंकी
१२नेपा ब्याङ्क्वेटखुशिँवु
१३बिग मार्टकालधारा, पकनाजोल
१४साल्ट ट्रेडिङ कर्पोरेसनकालीमाटी
१५काठमाडौँ मलसुन्धारा
१६सिभिल मलसुन्धारा
१७सिटिसि मलसुन्धारा
१८रञ्जना मलनयाँ सडक
१९विग मार्ट कम्प्लेक्सअनामनगर
२०एटि कम्प्लेक्सन्यू प्लाजा
२१भाटभटेनीअनामनगर
२२आइटी प्लाजाकमलादी
२३संकटा चोकटेवहाल
२४के. एल. टावरचाबहिल
२५वि एन्ड एसएमबौद्ध
२६भर्गो जापानशंखमुल
२७आइप्लेक्सबानेश्वर
२८एनबि सेन्टरनयाँ बानेश्वर
२९फोनिक्स टावरबत्तीसपुतली
३०चाबहिल फुटबल चौरचाबहिल गणेश स्थान
३१बिगमार्टशंखमुल
३२बिबिएसएमकोटेश्वर
३३सिफल चौरसिफल
३४केटिएम पार्टी प्यालेस
३५निराकल कम्प्लेक्सशंखमुल
३६एसि कम्प्लेक्सचाबहिल
३७भाटभटेनीकोटेश्वर
३८भाटभटेनीनक्साल
३९विग मार्गबालुवाटार
४०सेल्स बेरीमहाराजगञ्ज
४१भाटभटेनीमहाराजगञ्ज
४२कोइराला मार्टसामाखुशी
४३विग मार्टसामाखुशी
४४सिटी सेन्टरकमलपोखरी
४५ल्होत्से मलबालाजु
४६सासा ब्याङ्क्वेटसोह्र खुट्टे

अर्थतन्त्रको हिस्सेदार बन्दै
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १५ प्रतिशतको हाराहारीमा हुन्छ । विगत केही वर्ष कोभिड महामारीका कारणले पुष्प व्यवसायमा नकारात्मक असर पुर्‍याएको भएता पनि आर्थिक वर्ष २०७९\०८० देखि व्यवसायले पुनः गति लिएको फ्यानले जनाएको छ । पछिल्लाे समय पुष्प खेती ५२ जिल्लामा पुग्दा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेकाे छ भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्पा व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा पुष्पको बार्षिक कारोबार रु.२ अर्व ४२ करोड रहेकोमा आर्थिक वर्ष ०७७\७८ मा बर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायिक कारोबारमा कमी आई जम्मा रु.१ अर्व ६३ करोड मा खुम्चिएको थियो भने आर्थिक वर्ष २०७८/८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको वार्षिक कारोबारमा केही वृद्धि भएको थियो ।

त्यस्तै गत आथिक बर्ष ०७९/८० मा रु.३ अर्व ७ करोड भन्दा बढीको कारोबार भएकोमा अघिल्लो वर्षको तुलनामा आर्थिक बर्ष २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भई रु.३ अर्व ६८ करोड भन्दा बढीको कारोबार भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार यसै आर्थिक वर्ष ०८०/८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक निर्यात् कारोबार रु.१ करोड २ लाख १२ हजार भएको छ भने आयात तर्फ रु. २७ करोड ७९ लाख ५ हजारको कारोबार रहेको छ।

चिन्तामा संगठन

देशमा तिहारका लागि आवश्यक पर्ने सयपत्री माला लगायतका फूल पर्याप्त मात्रामा उत्पादन हुने गरे पनि बजारमा अनियन्त्रित आयातका कारण नेपाली किसानहरूले बजार नपाउने समस्या भोग्नुपरेको भन्दै विभिन्न संघसंस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय कृषक समूह महासंघ, नर्सरी तथा पुष्प उत्पादक किसान संघ, र फ्लोरिकल्चर एशोसिएसन नेपालले नेपालमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र अनावश्यक आयातले किसानहरूको आम्दानीमा नकारात्मक असर पुर्‍याएको भन्दै चाडपर्वको समयमा अनावश्यक आयात रोक्न माग गरेका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पंचकाजी श्रेष्ठले देशमै फूल उत्पादनको प्रचुर सम्भावना हुँदा पनि करोडौं मूल्यको फूल आयात गर्नु दुर्भाग्यपूर्ण रहेको बताए। विदेशी फूलका कारण किसानहरूले उचित मूल्य नपाउने, उत्पादनको बजार सिमित हुने समस्याहरू आउन थालेको र यसले चाडपर्वको मौलिकता समेत प्रभावित बनाएको उनको भनाइ छ। उनले सरकारसँग स्वदेशी पुष्प व्यवसायलाई प्रोत्साहन गर्न आवश्यक नीति र बजार व्यवस्थापनको माग गरे।

त्यस्तै, नर्सरी तथा पुष्प उत्पादक किसान संघका अध्यक्ष कुमार कसजु श्रेष्ठले तिहारका लागि पर्याप्त मात्रामा सयपत्री फूलको उत्पादन नभएको तथ्यहिन समाचारहरूबाट भ्रामक अवस्था सिर्जना गरिएको भन्दै यस्ता सूचनाहरूले किसानहरूलाई निरुत्साहित बनाएको बताए। उनले आयातको आवश्यकता नरहेको र स्वदेशी फूल प्रयोग गर्न सरकारसँग आग्रह गरे। साथै, चोरी पैठारीको सम्भावनालाई दृष्टिगत गर्दै उनले सुरक्षा निकाय र स्थानीय पालिकासँग निगरानी र अनुगमनको लागि पनि अनुरोध गरेका छन्।

फ्लोरिकल्चर एशोसिएसन नेपालले पनि आफूहरूले भारतबाट फूल आयात गर्न लागेको जानकारी असत्य रहेको जनाएको छ। अध्यक्ष सुरेश भक्त श्रेष्ठले हालसम्म नेपाल सरकारको कुनै पनि आयात अनुमति जारी नगरेको जानकारी दिँदै संघको तर्फबाट आयात गराउने कुनै नीति नरहेको स्पष्ट पारे। उनीहरूले चाडपर्वमा देशभित्रै उत्पादन भएको फूलको उपभोगले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र आत्मनिर्भरता अभिवृद्धि गर्ने उल्लेख गरेका छन्।