काठमाडाैँ । उपभोक्ता मुद्रास्फीतिले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दरलाई बुझाउँछ । उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआइ) मुद्रास्फीति दर मापन गर्ने एक सूचक हो । उपभोक्ता मूल्य सूचकाङ्क गणना आधार वर्षमा तोकिएको डालोका वस्तु तथा सेवाहरूको मूल्यलाई समीक्षा वर्षमा सोही डालोमा रहेका वस्तु तथा सेवाको मूल्यको अनुपातका आधारमा गर्ने गरिन्छ । नेपालको उपभोक्ता मूल्य सूचकाङ्कका लागि आर्थिक वर्ष २०८०/८१ लाई पछिल्लो आधार वर्षको रूपमा लिइएको छ ।
नेपाल राष्ट्र बैंकले मासिक रूपमा प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्न नेपाल जीवनस्तर सर्वेक्षण (NLSS-IV) को तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गरेको छ। उक्त सर्वेक्षणको आधारमा पहिचान गरिएका ५२५ वटा वस्तु तथा सेवाहरू समावेश गरी वस्तु तथा सेवाको डालो (CPI Basket) निर्धारण गरिएको छ ।
उपयुक्त वस्तु तथा सेवालाई खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा समूह गरी दुई बृहत् समूहमा विभाजन गरिएको छ । खाद्य तथा पेय पदार्थको भाराङ्क ३५.४९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ । यसअन्तर्गत १० उपसमूहहरू रहेका छन्। यसै गरी, गैरखाद्य तथा सेवा समूहको भाराङ्क ६४.५१ प्रतिशत र १३ उपसमूह रहेका छन् ।
घर परिवारको खर्चमा अधिक हिस्सा रहेका वस्तु तथा सेवाको अधिक भाराङ्क रहेको र कम हिस्सा हुने कम भाराङ्क रहने उल्लेख गरिएकाे छ। यी बस्तु तथा सेवाहरूको मूल्य देशका ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट नियमित रूपमा सङ्कलन गरी सूचकाङ्क तयार गर्ने गरिएको छ ।
उपभोक्ता मूल्य सूचकाङ्क मापनको विधि अनुसार यसलाई दुई तहमा गणना गरी निकालिएको छ जसमा प्रारम्भिक तहमा ज्यामितीय औसत र माथिल्लो तहमा अंकगणितीय भारित औसत विधि प्रयोग गरिएको छ। राष्ट्र बैंकका अनुसार भारित औसत विधिबाट गणना गरिने भएकोले सापेक्षिक रूपले भाराङ्कमा अधिक भाराङ्क रहेका वस्तु तथा सेवाहरूको मूल्यमा हुने परिवर्तनको अधिक प्रभाव रहने र कम भाराङ्क रहेकाहरूको कम प्रभाव रहने हुन्छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०३१/३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न सुरू गरेको हो । तत्पश्चात् उपभोक्ताको खर्च प्रवृत्तिमा हुने परिवर्तनलाई मध्यनजर गर्दै मूल्य सूचकाङ्कको आधार वर्ष नियमित रूपमा अद्यावधिक गर्दै आइरहेको छ । सोही अनुसार राष्ट्र बैंकले हालै छैठौं पटक मूल्य सूचकाङ्कको आधार वर्ष २०७१/७२ लाई अद्यावधिक गरी २०८०/८१ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्