काठमाडौं । चेल्सीले युइएफए कन्फरेन्स लिगमा कीर्तिमानी जित हात पारेको छ । बिहीबार स्टामफोर्ड ब्रिजमा भएको खेलमा आर्मेनियाली क्लब एफसी नोआहलाई ८–० ले पराजित गर्दै चेल्सीले युइएफए कन्फरेन्स लिगमा कीर्तिमान बनाएको हो ।
प्रिमियर लिग क्लबका लागि जोआओ फेलिक्स र क्रिस्टोफर एनकुन्कुले दुई–दुई गोल गरे, जसले हाफ टाइमसम्म नै ६ गोल गरेका थिए । चेल्सीका लागि टोसिन अडाराबियो, मार्क गुइउ, एक्सेल डिसासी र मिखाइलो मुड्रिकले अन्य गोल गरेपछि चेल्सीले प्रतियोगिताको इतिहासमा सबैभन्दा ठूलो जित दर्ता गरेको हो।
सन् २०२१ मा सुरु भएको कन्फरेन्स लिगमा यसअघि गत सिजन लुडोगोरेट्सलाई ७–१ ले हराउँदै नर्ड्सजेल्यान्डले सबैभन्दा ठूलो अन्तर छ गोलसहित ठूलो जितको कीर्तिमान बनाएको थियो। तर, घरेलु दर्शकको साथ पाएको चेल्सीले उक्त कीर्तिमान भंग गर्दै आफ्नो नाममा कीर्तिमान दर्ता गराउन सफल भएको हो। यो नतिजाले चेल्सीको इतिहासमा दोस्रो ठूलो जित पनि बराबरी गरेको छ ।
चेल्सी तीन खेलबाट अधिकतम ९ अंकसहित लिग चरणमा कन्फरेन्स लिगको शीर्ष स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्