आहा ! सिन्धुलीको जुनार (फोटोफिचर)


सिन्धुली । सिन्धुलीको जुनारको सिजन सुरु भएको छ । विपी राजमार्गमा आवतजावत गर्ने यात्रुहरुको लागि सिन्धुलीको जुनार उपहार हुने गरेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खनियाँखर्कमा दैनिक यात्रा गर्ने यात्रुहरुले जुनार खरिद गर्ने गरेका छन् ।

स्थानीय व्यापारीका अनुसार जुनार प्रति किलो ८० देखि ९० रुपैयाँमा विक्री भइरहेको छ । सिन्धुलीको रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोन अन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।

सिन्धुलीको ९ वटै स्थानीय तहमा आंशिकरूपमा जुनार खेती हुँदै आएको छ । सिन्धुलीमा कुल एक हजार ३४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा ७२५ हेक्टर उत्पादनशिल क्षेत्र रहेको तथ्यांक छ ।