काठमाडाैँ । अजरबैजानको बाकुमा आयोजित कोप—२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वमा कोप—२९ मा सहभागी भएको नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्किएको हो । सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले नेपालले कोप—२९ मा राष्ट्रपति पौडेलले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई विशेष जोड दिनुभएको बताए ।
उनुका अनुसार राष्ट्रपति पौडेलले जलवायुजन्य प्रकोपहरुले नेपालमा ठूलो जनधनको नोक्शानी भएको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
जलवायु न्यायका लागि विकसित देशहरुले विकासशिल देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिनुभएको पनि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहसचिव राईले बताए ।
अजरबैजानमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेट गरेका थिए । जसमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरु कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरु अझ बढी जिम्मेवार हुनुपर्ने धारण महासचिवले राखेका थिए ।
त्यस्तै अजरबैजानका राष्ट्रपति इलहाम अलियबको भेटमा अबको १ वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्शनका लागि सक्रिय रहने कुरा गरेकाे जानकारी गराए । उनले नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रश्तावहरु पेश गरेमा अजरबैजानका लगानीकर्ताहरु लगानीका लागि तयार रहेको कुरा पनि राष्ट्रपति अलियबले बताउनुभएको सहसचिव राईले जानकारी दिए ।
सहसचिव राईकाअनुसार राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको छ ।
हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको र सगरमाथा संवादमा उपस्थित हुन आह्वान गरेकाे बताए ।
प्रतिक्रिया दिनुहोस्