असाेजकाे वर्षाले ११ अर्ब ८२ करोडको बिमा दाबी, सम्पत्ति बिमामा सबैभन्दा ठूलो क्षति


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले गत असोज १० देखि भएको निरन्तर वर्षाका कारण विभिन्न बिमा कम्पनीहरूले प्राप्त गरेका क्षतिको विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार गत कार्तिक २८ गतेसम्म निर्जीवन बिमा र निर्जीवन लघु बिमा गरी १८ वटा कम्पनीमा ३ हजार ४१८ वटा दाबी संख्या परेको छ। दाबी अनुसार कम्पनीहरूले ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । प्राधिकरणको तंथ्याक अनुसार हालसम्म कम्पनीहरूले ९०२ वटा दाबीको ६१ करोड ७ लाख भुक्तानी गरेका छन् ।

प्राधिकरणका अनुसार बिमालेखका प्रकारमा सबैभन्दा धेरै दाबी सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमामा १ हजार ६५३ वटा दाबीको ८ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ कम्पनीहरूले भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०६ वटा दाबीको कम्पनीहरूले २ अर्ब ४३ करोड ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको तंथ्याकले देखाएकाे छ ।

यसैगरि मोटर बिमा (निजी) तर्फ ८८७ वटा र मोटर बिमा (सार्वजनिक) तर्फ ३५० वटा दाबीको कम्पनीहरूले ३७ करोड ७९ लाख रुपैयाँ र २० करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको तंथ्याकले देखाएको छ ।

त्यस्तै कृषि बाली बिमातर्फ १३१ वटा दाबी १ करोड १२ लाख रुपैयाँ, पशुपन्छी बिमातर्फ ५१ वटा दाबीको १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ भने सामुद्रिक बिमातर्फ कम्पनीहरूमा २२ वटा दाबीकाे १ करोड ३७ लाख रुपैयाँ र विविधतर्फ २० वटा दाबी ६५ लाख ५२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको तंथ्याकले देखाएको छ ।