काठमाडौँ । पछिल्लो समय प्राकृतिक विपत्तिका हरेक घटनालाई जलवायु परिवर्तनसँग मात्र जोडेर विश्लेषण गर्ने गरिएकामा विज्ञहरूले आपत्ति जनाएका छन् । काठमाडौँमा जारी जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलनमा सहभागीहरूले यस्तो बताएका हुन् ।
यस विषयमा सबै पक्षको ध्यान जान जरुरी रहेको बताउँदै हरेक विषयलाई जलवायु परिवर्तनसँग मात्र जोड्ने हो भने वास्तविकता लुक्ने डा. तेज कार्कीले बताए । उनले भने, “हरेक विपत्तिलाई जलवायु परिवर्तनसँग मात्र जोड्न जरुरी हुँदैन । पानीजन्य संक्रमण जस्ता संवेदनशील विषयमा पनि अब जलवायु परिवर्तन भन्न थालियो । यसले सामान्य प्राकृतिक विपत्ति र जलवायु परिवर्तनबीचको फरकलाई नै ओझेलमा पार्ने डर हुन्छ ।”
त्यस्तै, योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र घिमिरेले पनि यस्ता विषयमा अब बहस र अध्ययन हुन आवश्यक रहेको औँल्याए । पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टीकृत विषयमा परामर्श गर्नका लागि अहिले ३ दिने एसिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन काठमाडौँमा जारी छ ।
मंगलबार उक्त सम्मेलनमा जलवायु परिवर्तनले पार्ने असरलाई रोक्ने दिगो बाटो, दिगो भविष्य निर्माणमा सुशासन र स्थायित्वजस्ता विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । सरकारलाई जबाफदेहिता बनाउने र सम्भावित विपत्तिको पूर्वतयारीमा लाग्न सुझाव दिने मुख्य उद्देश्यका साथ २३ देशका प्रतिनिधि अहिले काठमाडौँमा भेला भएका छन् ।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म (स्काएफ) नेपालको आयोजनामा भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनबाट आउने निष्कर्ष एसिया प्रशान्त क्षेत्रका २३ वटै देशका सरकारलाई सुझावका रूपमा हस्तान्तरण गरिने भएकाले पनि सम्मेलनमा उठेका विषयवस्तु र भइरहेका छलफल निकै महत्वपूर्ण हुने स्काएफका अध्यक्ष ठाकुरप्रसाद शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्