काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरूको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् ।
बुधवार सिंहदरबार स्थित भौतिक मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार, जलश्रोत, जलवायु लगायत क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले मुलुकका मुख्य राजमार्गहरूकाे विकल्पमा अन्य राजमार्ग बनाउन आवश्यक देखिएकाले सरकारले छलफल अगाडि बढाएको बताएका हुन् ।
उनले बाढी, पहिरोले निम्त्यिाएको विपद्पछि वैकल्पिक राजमार्ग बनाउन जरुरी देखिएको उल्लेख गरे । उनले नागढुङ्गा–मुग्लिङ सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था रहेको बताए । उनले विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक बनाउने विषयमा सरकारले सोचि रहेको बताए । उनले विज्ञहरूले नदी किनारमा सडक बनाउन नहुने सुझाव दिएको भन्दै सो विषयमा सरकार गम्भिर रहेको पनि बताए ।
“अहिले भएका राजमार्गहरुको विकल्पमा अन्य सम्भावित राजमार्गहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो विषयमा सरकारले सोचिरहेको छ । बाढी पहिरोको विपद्पछि सरकारले वैकल्पिक सडक निर्माण गर्ने विषय सोचिरहेका छौं । छलफल पनि भएको छ । नागढुङ्गा सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था छ । विपी राजमार्गको विकल्पको रूपमा अर्को सडक सोच्नुपर्ने भएको छ । त्यसको विषयमा पनि सोचिरहेका छौं,” उनले भने ।
उनले असोजमा आएको बाढी पहिरोले क्रसरहरू उद्योगमा ठूलो क्षति भएको भन्दै निर्माण सामाग्रीको अभाव हुनसक्ने सुझाव आएकाले क्रसर ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । छलफलका क्रममा विज्ञहरूले जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरी पूर्वाधार निर्माणका योजनाहरु बनाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्