काठमाडौँ । जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बताएका छन् । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले भने, “उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव, र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेका छन् । जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक छन् । यसमा स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ ।”
नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीर रूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदीहरू द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उनले बताए । साथै, पछिल्लो समय देखा परेको जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावले गर्दा विशेष गरी ग्रामीण जनजीवन र जैविक विविधता नै संकटमा परेको र वनस्पति तथा जीवजन्तुका प्रजातिहरू पनि जोखिममा परेको मन्त्री ठकुरीले बताए ।
तीन दिने एशिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलनमा २३ देशका विज्ञहरुको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा बहस र छलफल भएको थियो ।
साथै, मन्त्री ठकुरीले सम्मेलनले नीतिनिर्माण, प्राविधिक समाधान, र क्षेत्रीय सहकार्यका लागि नवीनतम दृष्टिकोण प्रस्तुत गरेको बताउँदै नेपाल जस्ता हिमाली देशहरूका लागि छलफलबाट आएको निष्कर्ष फलदायी हुनेमा विश्वास व्यक्त गरे । सम्मेलनमा उपस्थित सहभागिहरूले पनि छलफलले सामूहिक सोच र अनुभवको आदानप्रदानलाई सम्भव बनाएको र सुशासन प्रणालीलाई जलवायु परिवर्तनसँग अनुकूलित गर्न थप प्रेरणा दिएको बताए । उक्त सम्मेलनबाट आएका विचारहरू नेपालका लागि मात्र नभएर सम्पूर्ण एशिया प्यासिफिक क्षेत्रका लागि प्रेरणादायी हुनेमा आफूहरु विश्वस्त रहेको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्