काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरू गर्नुपर्ने बताएका छन् ।
बिहीवार काठमाडौँमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताएका हुन् । उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताए ।
नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका कामहरु गर्नुपर्ने भन्दै हतारमा मेसिनहरुको प्रयोग गर्नु घातक हुने बताए । देशको भौगोलिक अवस्थितिबारे गहन रुपबाट सोच्न जरुरी रहेको उल्लेख गरे । तीन तहकै सरकार मिलेर काम गरेमात्रै सोचेअनुरुपको नतिजा निस्किने बताए । विकासको लागि सडक शुरुवाती बिन्दु रहेको भन्दै प्रविधिमैत्री सडक बनाउने कुरामा लाग्न जोड दिए ।
नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरुभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्