काठमाडौँका तीन स्थानमा प्रदर्शन हुँदा सवारी आवागमन प्रभावित


काठमाडाैँ । काठमाडौँ उपत्यकामा आज दरबारमार्ग, माइतिघर र बालकुमारी क्षेत्रमा कार्यक्रम आयोजना हुने भएकोले, उक्त स्थानहरूमा सवारी साधनको आवागमन प्रभावित भएकाे छ । ट्राफिक प्रहरीले सवारी चालकहरूलाई ती स्थानहरूमा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

दरबारमार्गमा हुने कार्यक्रमका कारण, सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरेर चलाइएको छ। दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्रशालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ। यस कारणले गर्दा पद्मोदयमोड, पुतलिसडक, कमलादीमोड, कृष्णपाउरोटी, जयनेपाल, जमल, महेन्द्रशालिक, केशरमहल र लैनचौर जस्ता स्थानहरूमा सवारी साधन क्युमा चलिरहेकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

काठमाडौँ उपत्यकाको अन्य स्थानमा भने सवारी आवागमन सामान्य रहेको छ। तर बिहानको पिक आवरका कारण जडिबुटी, कोटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, माइतिघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर र टेकु जस्ता स्थानमा केही सवारी साधन क्युमा चलिरहेकाे महाशाखाले जनाएकाे छ ।

काठमाडौँ उपत्यका भित्र र बाहिरका नाकामा सवारी आवागमन भने सामान्य रहेको जानकारी ट्राफिक कन्ट्रोल रुमले दिएको छ।