काठमाडाैँ । नेपाल आर्थिक संघका पदाधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् ।
नेपालको विद्यमान आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रको लागि दिगो रुपमा संचालन गर्न विभिन्न उपायहरूको खोजी गर्ने सम्बन्धमा भेट गरेकाे जनाइएकाे छ ।
नेपालले आर्थिक संघ र अर्थ मन्त्रालय बिच धेरै वर्षदेखि अर्थतन्त्रसँग सम्बन्धित विषयमा विविध विषयमा सहकार्य गर्दै आएको आगामी दिनमा पनि अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रहेकाे संघका अध्यक्ष प्रा. डा. विश्वम्भर प्याकुर्यालले बताए।
नेपाल आर्थिक संघले विभिन्न विषयमा सरकारलाई स्वन्त्र रूपले सुझाव सल्लाह दिदैँ आएको र आजको आवश्यकतालाई मध्यनजर गरेर, संघ, प्रदेश तहमा पनि समसामयिक आर्थिक मुद्दाहरुमा बुद्धिजीबी, निजी क्षेत्र र सरकारको धारणा र राज्यले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयसँग कार्यक्रम अगाडि बढाउन सकिने कुरा संघका अध्यक्ष प्रा. डा. प्याकुर्यालले बताए ।
साथै उनले नेपालको एकमात्र राष्ट्रिय तहको अर्थशास्त्रीहरूको छाता संगठन भएकोले नेपाल आर्थिक संघले गरेका अध्ययन/अनुसन्धान उत्पादकत्वसँग जाेडिने हुनाले र दिगो रुपमा कार्यान्यन गर्न सकिने हुँदा देशको वर्तमान आर्थिक अवस्था कुन मोडमा पुगेको छ भन्ने कुरा विभिन्न सरोकारवालाहरुसँग संवाद गरी अर्थ मन्त्रालयले सुरु गरेका आर्थिक सुधार साथै अन्य कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग पुग्ने कुरा उल्लेख गरे ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भेटमा नेपाल आर्थिक संघ अर्थशास्त्रीहरूको छाता संगठन र अर्थतन्त्रसँग सम्बन्धित विषयमा पहिले पनि सहकार्य गरेको र उक्त संघ महत्वपूर्ण संस्था भएकोले सहकार्य गर्न कुनै असजिलो नहुने कुरा व्यक्त गरे ।
“आजको अवस्थामा अर्थतन्त्र बारे सरोकारवालाहरुलाई वास्तविक अवस्थाको बारेमा जानकारी गराउनु राम्रो हो,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्