जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २९) का पक्षहरूको सम्मेलनको २९ औँ सत्रमा आइतबार जलवायु सम्झौताको प्याकेजमा हस्ताक्षर भएको छ ।
पेरिस सम्झौताको धारा ६ अन्तर्गत जलवायु वित्त पोषण र विश्वव्यापी कार्बन बजार संयन्त्रसँग सम्बन्धित मुद्दाहरूको लागि नयाँ सामूहिक क्वान्टिफाइड लक्ष्यमा निर्णयहरू समावेश छन् । सम्झौताहरूले २०२५ पछिको जलवायु वित्त लक्ष्यहरू तय गरेका छन् ।
जसमा विकसित देशहरूबाट कम्तिमा ३०० बिलियन अमेरिकी डलरको वार्षिक कोष र विकासोन्मुख देशहरूको जलवायु कार्यहरूलाई समर्थन गर्न २०३५ सम्ममा प्रतिवर्ष कम्तिमा १.३ ट्रिलियन डलरको फराकिलो जलवायु वित्तिय लक्ष्य समावेश छ ।
यस व्यवस्थाले विकासोन्मुख देशहरूलाई जलवायु कार्य सञ्चालन गर्न र अर्को वर्ष राष्ट्रिय स्तरमा निर्धारण गरिएको योगदानको नयाँ चरण पेश गर्नको लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ ।
पेरिस सम्झौताको धारा ६ अन्तर्गत अन्तर्राष्ट्रिय कार्बन बजार संयन्त्रमा सहमतिमा पुग्न, लगभग २०० पक्षहरूले बहुपक्षीय वार्तामा वर्षौंको गतिरोध तोडेका छन् ।
यसले धारा ६ अन्तर्गत बजार संयन्त्रको लागि कार्यान्वयन नियमहरू पूरा भएको र पेरिस सम्झौता भित्रको अन्तिम पेन्डिङ मुद्दालाई समाधान गरेको छ । साथै सम्मेलनले कार्बन व्यापार संयन्त्र, ग्लोबल स्टकटेक नतिजाको कार्यान्वयन, न्युनिकरण कार्य कार्यक्रम र विश्वव्यापी अनुकूलन लक्ष्य लगायत विभिन्न मुद्दाहरूमा निर्णयहरू पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्