बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परेः श्रममन्त्री भण्डारी


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताएका छन् ।

मंगलवार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई बैंकहरूले ऋण नदिँदा उनीहरु ‘डेप्थ ट्र्याप’मा पर्ने गरेको बताएका हुन् । उनले वेदैशिक रोजगारीमा गएका श्रमिकहरु ऋणको भारमा पर्ने र बाकसमा फकिर्नुपर्ने गम्भिर स्थिति सिर्जना भएको भन्दै वर्तमान सरकार यसका लागि काम गरिरहेको बताए ।

उनले नेपालको श्रमिक बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने गरेको भएपनि एक लाख श्रमिकलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको उल्लेख गरे ।उनले वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारी नै भएको बताउँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहुन्जेल त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने बताए ।

उनले सरकारले मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रमिकहरुलाई बिना धितो ऋण दिने नीति लिएको बताए । -न्युज एजेन्सी नेपाल