काठमाडाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरूलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमवार एक समारोहकाबिच पोर्टल सार्वजनिक गरेको हो । कार्यक्रमकाबिच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिए ।
उनले कार्यालयले उत्पादन गरेका तथ्याङ्कहरूलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताए ।उनले राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रिय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्याङ्क सत्य र वस्तुनिष्ठ हुनुपर्ने बताए ।
“राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्यांकको केन्द्रिय निकाय हो । यस कार्यालयले लामो समयदेखि विभिन्न किसिमका तथ्यांकहरु उत्पादन गर्दै आएको छ । आर्थिक सामाजिक वातारणीय लगायतका तथ्यांकहरु सार्वजनिक गर्दै आएको छ । तथ्यांकको महत्व तब मात्र हुन्छ जब यसको प्रयोग गरिन्छ । प्रयोग भएन भने त्यो तथ्यांक उत्पादनका लागि मात्र उत्पादन गरिन्छ । त्यसैले हामीले तथ्यांकको प्रयोगलाई बढाउनुपर्छ भन्ने मुख्य उद्देश्यले हामीले उत्पादन गरेका तथ्यांकहरु प्रयोगकर्ताहरु समक्ष सहज ढंगले पुगोस् भनेर यो पोर्टलको विकास गरिएको हो,” उनले भने ।
पोर्टलमा कार्यालयले उत्पादन गर्ने आर्थिक तथा सामाजिक क्षेत्रका तथ्याङ्कहरू सार्वजनिक गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्