काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज (मंगलबार) एक कार्यक्रमकाबिच सर्लाहीको हरिवन नगरपालिकामा धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेको छ ।
शुभारम्भ कार्यक्रमममा सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, पुर्व नगरप्रमुख गणेश प्रसाईं, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बाँनिया, जिफण्डका अध्यक्ष संबिधान सभा सदस्य बिनोद श्रेष्ठ लगायत मजदुर नेताहरूको पनि उपस्थिति थियो। नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले काटाको डिजिटलइजेशन सुरू हुनु राम्रो सुरुवात भएको र पालिकाले उक्त कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “काटाको डिजिटलाइजेशनको प्रक्रिया राम्रो सुरुवात भएको छ र यसले न केवल ट्रक व्यवसायलाई सुदृढ पार्ने छ, बरू यसले यातायात व्यवस्था पनि सुधार्ने छ। हामी यसका लागि सबै पक्षसँग सहकार्य गर्न तयार छौं र यसलाई अघि बढाउन नगरपालिकाको पूर्ण सहयोग रहने छ।’’
धर्मकाटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव बानियाँले बताए । उनले डिजिटलाइजेशनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने बताए।
देशभरका धर्मकाटालाई डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । हाल देशभर २१ वटा धर्मकाटा संचालनमा छन्। महासंघका अनुसार ती सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ। डिजिटलाइजेशनपछि ओभरलोड ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने महासंघले जनाएको छ ।
डिजिटल प्रणालीको मुख्य उद्देश्य महासंघका सदस्यहरूको विवरणलाई केन्द्रीय रूपमा सुरक्षित राख्नु, भारतीय र अन्य विदेशी मालवाहक सवारी साधनलाई निगरानीमा राख्नु, र तोकिएको क्षमताभन्दा बढी भार बोकेर हुने दुर्घटना र क्षति न्यूनीकरण गर्नु रहेको छ। यो प्रणालीले सवारी साधन दुर्घटनामा परेको वा विग्रिएको अवस्थामा आवश्यक जानकारी सम्बन्धित पक्षसम्म तुरुन्त पुर्याउने, बीमा दावीमा सहजीकरण गर्ने, र राजस्व प्रणालीमा पारदर्शिता ल्याउने ठानिएको छ।
त्यस्तै गत मंसिर ४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रूपमा एक कार्यक्रमकाबिच धार्केको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्