अन्तर्राष्ट्रिय युवा शिविर नेपालमा आयोजना हुँदै


काठमाडाैँ । युवाहरूको नेतृत्व विकासका लागि अन्तर्राष्ट्रिय युवा शिविर २०२५ आयोजना हुँदैछ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५एल नेपालले पुस १९ देखि २१ गते (जनवरी ३–५ तारिख) सम्म चितवनको सौराहामा अन्तर्राष्ट्रिय युवा शिविर (इन्टरनेसनल युथ क्याम्प) २०२५ आयोजना गर्न लागेको हो ।

कार्यक्रम संयोजक एवं लियो डिस्ट्रिक्ट काउन्सिलका डिस्ट्रिक्ट प्रेसिडेन्ड लियो अभय थापाले मिड भ्याली इन्टरनेशनल कलेज, ज्ञानेश्वर मा पत्रकार सम्मेलन गरेर साउथ एशियाका युवाहरुलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा, युवा नेतृत्व, वातावरण संरक्षण, विविध परि दृश्यहरूको अनुभव प्राप्त गर्न र सामुदायिक सेवाको स्थायी भावनामा एकताबद्ध गर्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

“कार्यक्रमले नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामाजिक उत्तरदायित्वको लागि गतिशील प्लेटफर्म प्रदान गर्नेछ,” उनले भने, “यसबाट सहभागीहरुलाई व्यक्तिगत र व्यावसायिक रुपमा क्षमता अभिवृद्धिमा मद्दत पुर्याउनेछ ।” तीन दिन चल्ने क्याम्पमा नेतृत्व, सार्वजनिक भाषण, उद्यमशीलता, र व्यक्तिगत वृद्धिजस्ता आवश्यक सीपहरुमा केन्द्रित हुने कार्यशाला हुने आयोजकले जनाएको छ ।

सीप निर्माणको अतिरिक्त शिविरले टोली निर्माण चुनौतीहरू, सहयोग र रचनात्मक समस्या समाधानलाई बढावा दिने गतिविधिहरुमा जोड दिने बताइएको छ । “यी गतिविधिहरूमार्फत युवा नेताहरुले बलियो सार्वजनिक सम्बन्धहरू विकास गर्ने, पारस्परिक सम्मान र मित्रताको विश्वव्यापी नेटवर्क विकास गर्ने मौका पाउने अपेक्षा छ,”कार्यक्रम संयोजक थापाले भने ।

शिविरको मुख्य जोड सामाजिक प्रतिबद्धता रहेको छ । सहभागीहरुलाई सहभागी लियो क्लबहरुबीच सामुदायिक सेवा पहलहरुमा सहयोग गर्न प्रोत्साहित गरिने बताइएको छ ।सीप विकासबाहेक शिविरले अन्तर सांस्कृतिक नेटवर्किङ, समझदारी र एकताको जीवन्त वातावरणलाई बढावा दिने आयोजकको भनाइ छ । “कार्यक्रमका लागि नेपाल र विश्वभरबाट १५ सय बढीको आवेदन प्राप्त हुने अपेक्षा गरेका छौं । त्यसबाट ६० जना छनोट गरिनेछ । जसमा ५० जना युवा नेपाल र १० जना अन्य देशबाट हुनेछन्,” कार्यक्रम संयोजक थापाले भने, “छनोट भएका सहभागीहरुले चितवनको सौराहामा आयोजना हुने तीनदिने युवा शिविरमा विशेष पहुँच प्राप्त गर्नेछन् ।”

उनीहरूलाई नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान र सामुदायिक निर्माणमा संलग्न हुने अवसर प्रदान गरिने उनले बताए । समुदायमा सकारात्मक प्रभाव पार्न उत्प्रेरित १८ देखि ३० वर्ष उमेर का सबै युवाहरुको लागि क्याम्प खुला हुनेछ । लायन्स इन्टरनेशनलअन्तर्गतको लियो डिस्ट्रिक्ट काउन्सिल ३२५एल नेपालले सेवा, नेतृत्व विकास र सामुदायिक संलग्नतामार्फत युवा सशक्तिकरण, वातावरण संरक्षण, सामाजिक सेवादेखि शिक्षा र स्वास्थ्य सचेतनाजस्ता विषयमा जागरण ल्याउने प्रयासस्वरुप युथ क्याम्प गर्न लागेको युवाहरुलाई उपस्थित हुन अपिल पनि गरेको  छ ।