काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले चार जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले स्पाेर्ट बाजी र प्राेबाे जस्ता अनलाइन बेटिङ एप्समार्फत पैसाको हारजित हुनेगरी सट्टेबाजी गरिरहेका ती व्यक्तिहरूलाई मैदानभित्रै पक्राउ गरेको हो।
पक्राउ परेका चारै जना भारतीय नागरिक हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २७ वर्षीय सुमन कुमार र ३० वर्षीय ब्रजेस कुमार छन्।
अनुसन्धानका क्रममा प्रहरीले विभिन्न कम्पनीका ६ थान स्मार्टफोन र ४ थान भारतीय आधार कार्ड समेत बरामद गरेको छ। सट्टेबाजी गैरकानुनी भएकाले पक्राउ परेका व्यक्तिहरूविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
साथै, यस्ता गतिविधिमा संलग्न कुनै व्यक्ति वा समूहको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जानकारी गराउन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्