काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालमाथि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सिलवालले जन्ममितिसम्बन्धी झुटा विवरण पेश गर्दै कानूनी व्यवस्था उल्लंघन गरेको र अध्यक्षको पदमा रहेर लाभ तथा सुविधा दुरुपयोग गरेको आयोगको दाबी छ।
आयोगले सिलवालले नागरिकता, राहदानी, र नोकरीका विवरणमा फरक जन्ममिति प्रस्तुत गरेको पाइएको जनाएको छ। सिलवालले त्रिभुवन विश्वविद्यालयबाट जारी ट्रान्सक्रिप्टमा उल्लेख भएको जन्ममिति २०१५।०४।१५ को आधारमा २०७३ सालमा अनिवार्य अवकाश लिएका थिए। तर, पछि नागरिकतामा संशोधन गरी जन्ममिति २०१६।०७।२२ कायम गरेको देखिएको छ। साथै, राहदानी आवेदनमा झुटा विवरण पेस गरी उमेर घटाएर कूटनीतिक र विशेष राहदानी प्राप्त गरेको पनि पाइएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी नियुक्तिको मापदण्ड अनुसार ६५ वर्षको उमेर पुगेपछि पदावधि समाप्त हुने प्रावधान रहेकोमा सिलवालले यो व्यवस्था उल्लंघन गरी ६६ वर्षको उमेरसम्म पनि बीमा प्राधिकरणको अध्यक्षको पदमा कार्य गरेको खुलेको छ।
आयोगको अनुसन्धानले सिलवालले २०७७ सालमा बिमा प्राधिकरणको अध्यक्ष पदको शपथ ग्रहण गर्दा कानूनी व्यवस्था र आफ्नो वास्तविक उमेरबारे जानकारी हुँदाहुँदै झुट्टा विवरण पेश गरेको देखाएको छ।
विशेष अदालतमा दायर आरोपपत्रमा सिलवालले २०८० साउन १५ देखि हालसम्म लिएको कुल ३६ लाख ६२ हजार १५४ रूपैयाँ फिर्ता गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कानूनी सजाय माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्