वर्तमान आर्थिक प्रगतिसँग म आफैँ सन्तुष्ट छैन,सुधार गर्न बाँकी छः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताएका हुन् । उनले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको बताए ।उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरु क्रमशः समाधान गर्दै गएको उल्लेख गरे ।

उनले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताए ।उनले विदेशी मुद्राको सञ्चिति,तरलता,बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताए। उनले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था रहेको दाबी गरे ।

उनले सरकारले समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धीहरू आर्जन गर्नुवर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताए । उनले राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताए।

 राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताए । उनले त्यसको लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए ।

उनले अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गरे । उनले बैंकमा भएको तरलतालाई उत्पादनमुलक काममा लाग्नु आवश्यक रहेको बताए ।