काठमाडाैँ । रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा पराजित गर्दै सिद्धान्त बैंक नेपाल प्रिमियर लिगको प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
विराटनगर लिग चरणबाट बाहिरिएको छ । पोखराको जितमा रेमन्ड रिफर नायक बने । खेललाई बराबरीमा पुर्याउनेदेखि सुपर ओभरमा बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन नै पोखराको जितको कारण बन्यो । जवाफमा १४० रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएपछि खेल टाइ भयो । खेलको निर्णय जारी लिगमा पहिलो पटक सुपर ओभरबाट भयो । जहाँ पोखराले विना कुनै विकेटको नोक्शानीमा १८ रन बनायो ।
सुपर ओभरमा पोखराका रिफर र एन्ड्रेस गाउस ब्याटिङमा आए । बलिङमा सन्दीप लामिछानेले जिम्मेवारी लिए । तर सन्दीपको बलिङ फितलो रह्यो । रिफरले दुई छक्का र एक चौकासहित १७ रन र गाउसले १ रन जोडे । जितको लागि १९ रनको लक्ष्य पछ्याएको विराटनगरको लागि मार्टिन गप्टिल र निकोलस क्रिटोन आए । बलिङमा रिफर थिए । उनले कशिलो बलिङ गर्दा विराटनगरले मात्र ५ रन बनायो । रिफरको जादु चल्दा पोखराले सुपर ओभरको जितमा महत्वपूर्ण २ अंक जोड्यो । निर्धारित २० ओभरको खेलमा भने गाउसले ३९, रिफरले अविजित ३४ र कप्तान कुशल भुर्तेलले ३१ रन जोडेका थिए । अन्तिम बलमा रिफरकै छक्कामा खेल बराबरी नतिजामा पुगेको थियो । बलिङमा प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए । यो खेलमा पनि सन्दीप विकेट विहिन बने ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १३९ रन बनायो । जारी एनपिएलमा दिनको पहिलो खेलमा टस जितेर ब्याटिङ रोज्ने टिम विराटनगर बन्यो । विराटनगरले ३७ रन बनाउँदा तीन विकेट गुमायो । मार्टिन गप्टिल ५ रनमा, लोकेश बम २६ रनमा र नरेश भट्ट ४ रनमा आउट भए । विराटनगरले शुरूवात राम्रो गर्न सकेन । यसपछि चौथो विकेटको लागि स्कट इडवार्डस र निकोलास क्रिटोनले ४३ रनको साझेदारी गरे । निकोलास १९ रनमा आउट भए । यसपछि स्कट ४५ रनमा आउट भए । उनी अर्धशतकबाट ५ रनले चुके । यसपछि बसिर अहमद अविजित २१ रनमा रहे र विराटनगरले १३९ रन बनायो । बलिङमा सागर ढकाल र रेमन रेफरले दुई–दुई विकेट लिए ।
यो जितसँगै पोखराले ४ अंक बनाएको छ । पाँच खेलमा चौथो हारसहित विराटनगर लिग चरणबाट बाहिरियो । उसले मात्र २ अंक बनाएको छ । लिगबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि लुम्बिनी पनि लिग चरणबाट नै बाहिरिसकेको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्