काठमाडौं । पछिल्लो चार महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कात्तिक मसान्तसम्म विदेशि विनिमय सञ्चिति २२५५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । गत असार मसान्तसम्ममा विदेशि विनिमय सञ्चिति २०४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
गत असार मसान्तसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड रहेको सञ्चिति कात्तिक मसान्तसम्ममा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको राष्ट्रबैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २००८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै पछिल्लो चार महिनामा बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) विनिमय सञ्चिति २८.४ प्रतिशतले बढेर २४७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति १९२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्रबैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्