ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनछौँः प्रमुख महर्जन


काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहेको बताएका छन् ।

मंगलवार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको बताएका हुन् । उनले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताए ।

उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरूलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे । “हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला,”उनले भने ।

उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको समेत बताए ।