हुण्डी कारोबारमा संलग्न चारजना पक्राउ, ६८ लाख नगदसहित चेक र मोबाइल बरामद


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डमा हुण्डी कारोबारमा संलग्न रहेको विशेष सूचनाको आधारमा प्रहरीले चारजनालाई ६८ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले राति ९:४५ बजे शङ्कास्पद रूपमा रोकिएको हुन्डाई क्रेटा गाडी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नगद रकम, चेक र मोबाइल फेला पारेको थियो। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौँ र झापाका व्यक्तिहरू रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूको परिचयमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ का राज कुमार माली, महानगरपालिका-१० का आवाद सिंह, झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ का युवराज सुवेदी, र अर्जुनधारा नगरपालिका-७ का प्रवेश कुमार पौडेल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ६८ लाख नगद, पाँच थान चेक, पाँच थान मोबाइल, र गाडी बरामद गरेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अन्तर्गत हुण्डी कारोबारसम्बन्धी कसूरमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले हुण्डी कारोबार जस्तो गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न चर्को निगरानी गरिरहेको जनाएको छ।