काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजनाहरू सम्पन्न गरेको छ। महानगरले यस अवधिमा ३७.३० किलोमिटर सडक कालोपत्रे गर्नुका साथै विभिन्न पूर्वाधार निर्माण कार्य सम्पन्न गरेको हो।
महानगरको सार्वजनिक निर्माण विभागले नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर सडक मर्मत गरेको छ। यसका अतिरिक्त पूर्वाधार एम्बुलेन्स कार्यक्रमबाट १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमबाट ९.४० किलोमिटर र क्रमागत योजनाबाट ९.३० किलोमिटर सडक निर्माण भएको छ। सडक कालोपत्रेसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ भने १.१६ किलोमिटर क्षेत्रमा ढल राखिएको छ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार हालसम्म करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको छ। यद्यपि ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। विभागले सडक निर्माणसँगै ६.४७ किलोमिटर क्षेत्रमा ब्लक छाप्ने काम सम्पन्न गरेको छ भने २ हजार ७० वर्गमिटर क्षेत्रमा पनि ब्लक छापिएको छ।
काठमाडौँ महानगरपालिकामा हाल १६ वटा विभाग, ३१ वटा महाशाखा, ५५ वटा शाखा र ४ वटा सचिवालय सञ्चालनमा छन्। नगर सभा, नगर कार्यपालिका, प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा विभिन्न योजनाहरू अघि बढाइएको छ।



प्रतिक्रिया दिनुहोस्