प्रोभिजन र खराब कर्जालाई एउटै रूपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरूमा समस्या भयाेः पूर्वबैंकर्स भट्टराई


काठमाडाैँ । पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरूमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानको लागि प्रोभिजन र खराब कर्जा छुट्याएर हेर्नु आवश्यक रहेको बताएका छन् ।

सोमवार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको नाफिज संवादमा बोल्दै पूर्वबैंकर्स भट्टराईले बैंकले नोक्शानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई छुट्टै रुपमा हेर्ने नीति आवश्यक रहेको बताएका हुन् । उनले बैंकले नोक्शानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्या आएको बताए ।

उनले बैंकहरूमा निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजन बैंकहरूले थप्दै जानु पर्ने अवस्था रहेको बताए । उनले बैंकहरूको अहिलेसम्मको अवस्था हेर्दा ८ प्रतिशतसम्म खराब कर्जा पुग्ने देखिएको बताए । उनले  बैंकहरूको निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्शानी व्यवस्थामा चालु आ.व.को दोस्रो त्रैमाससम्म २४ अर्ब ६७ करोड ७१ लाख रूपैयाँ व्यवस्था गरेको बताए ।

उनले बैंकहरुले कर्जा नोक्शानी व्यवस्थाको लागि रकम छुट्याउँदा नाफामा कमी आएको बताए । उनले बैंकले कुनैपनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था आए बैंकहरुले सतप्रतिशत नाफा÷नोक्शान खाता खर्चमा लेख्नुपर्ने व्यवस्था रहेको बताए । उनले बैंकहरूले तत्कालको अवस्थामा शेयर लगानीकर्तालाई लाभांश दिन नसक्ने बताए ।

उनले कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिनु नियामक निकायको पनि कमजोरी देखिएको बताए । उनले बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिनमा नभई हरेक वर्ष हुँदै आएको बताए ।

सोमवार सार्वजनिक भएको तथ्याङ्कले बैंकहरुको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा गिरावट भएको देखएको छ । गत वर्षको दोस्रो त्रैमासमा तुलनामा बैंकहरुको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेको छ । गत आ.व.को दोस्रो त्रैमाससम्म ९६ अर्ब ५६ करोड ५९ लाख रहेको खुद ब्याज आम्दानी चालु आ.व.को दोस्रो त्रैमासमा ९२ अर्ब ९७ करोड ९६ लाखमा झरेको हो । आम्दानी नै घट्दा बैंकहरुको नाफा समेत घटेको छ । —न्युज एजेन्सी नेपा