असोजको वर्षाले १२ अर्ब ७८ करोडको बिमा दाबी, हालसम्म २ अर्ब ५० करोड भुक्तानी


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले गत असोज १० देखि भएको निरन्तर वर्षाका कारण विभिन्न बिमा कम्पनीहरूले प्राप्त गरेका क्षतिको विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार गत माघ २३ गतेसम्म निर्जीवन बिमा र निर्जीवन लघु बिमा गरी १८ वटा कम्पनीमा ३ हजार ७२० वटा दाबी संख्या परेको छ। दाबी अनुसार कम्पनीहरुले १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। प्राधिकरणक अनुसार हालसम्म कम्पनीहरुले २ हजार २४९ वटा दाबीको २ अर्ब ५० करोड २० लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरूले अझै १ हजार ५३० दाबीको ९ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्राधिकरणका अनुसार बिमालेखका प्रकारका सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमामा १ हजार ७९२ वटा दाबीको ९ अर्ब २० करोड ८४ लाख रुपैयाँ कम्पनीहरूले भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३२४ वटा दाबीको कम्पनीहरूले २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको तंथ्याकले देखाएको छ ।

मोटर बिमा (निजी) तर्फ ९५८ वटा र मोटर बिमा (सार्वजनिक) तर्फ ३९६ वटा दाबीको कम्पनीहरूले ४२ करोड ४१ लाख रुपैयाँ र ३१ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यस्तै सामुद्रिक बिमातर्फ कम्पनीहरूमा २४ वटा दाबी ४ करोड १२ लाख रुपैयाँ, पशुपन्छी बिमातर्फ ६८ दाबी ३ करोड ९३ लाख रुपैयाँ, कृषि बाली बिमातर्फ १३७ वटा दाबी १ करोड रुपैयाँ र विविधतर्फ २१ वटा दाबी ९१ लाख ६६ हजार रुपैयाँ परेका छन्।