निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बुधवार काठमाडौंबाट डिजिटल माध्यमद्वारा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ९ मुर्माटपमा एक्पर्ट ग्रुप र रारा होल्डिङ्स प्रा.लि.ले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास गर्दै मन्त्री ठकुरीले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताए ।

उनले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे । लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानूनले ठूलो मद्दत पुग्ने उनकाे विश्वास छ । उनले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताए ।

कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामि आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने उनले आश्वासन दिए । उनले रारा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताए । 

उनले नेपालका अन्य पर्यटकीय क्षेत्रहरुमा समेत नीजि लगानीको आवश्यकता रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुमा आह्वान गरे ।