तराईका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले यी आयोजनाहरूले तराई–मधेस क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पु¥याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू भएको बताएका हुन् ।

जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुवाहक रेलसेवा दैनिक सञ्चालन भएको बताए । जयनगर–जनकपुर हरेक दिन ३ पटक र जनकपुर–विजयपुरा दिनको १ पटक आउने–जाने गरी रेल सेवा दिइएको उल्लेख गरे ।

उनले थप विजयपुरा–बर्दिवास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दै गरेको बताए । काठमाडौं–तराई मधेस द्रुत मार्गलाई शिघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको बताए ।

उनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्गको निर्माण सम्पन्न भई हाल हेडवक्र्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको बताए । हाल यसको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको जानकारी दिए । निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलले ठूलो लगानीको माग गरेको भन्दै त्यस योजनाको लगानीको व्यवस्थापन गरी निर्माणकार्य अगाडि बढाउन सरकार सकारात्मक रहेको बताए ।