काठमाडौँ । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि अन्तिम चरणको छनोटमा पाँच जना उमेदवार परेका छन्। अर्थ मन्त्रालयले सूचना जारी गर्दै ती उमेदवारलाई फागुन १० गते सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाएको छ।
अर्थ मन्त्रालयद्वारा साेमबार प्रकाशित सूचनाअनुसार अध्यक्ष नियुक्तिको लागि गठित नेपाल सरकारसमक्ष नाम सिफारिस समितिको माघ ४ गतेको निर्णयअनुसार पाँचजनाको नाम संक्षिप्त सूचीमा परेको हो। अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारहरूमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन्।
उनीहरूलाई १० फागुनको दिन दिउँसो २ बजे आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ। अन्तर्वार्तापछि नेपाल सरकारसमक्ष अध्यक्ष पदका लागि नाम सिफारिस गरिने छ।
प्रतिक्रिया दिनुहोस्