काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले निजी क्षेत्रलाई प्रवद्र्धन गर्न लेखा समितिले सहयोग गर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजना स् लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् । उनले जलविद्युत् कम्पनीहरूको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) रोकिएको विषय विवादको सट्टा समाधानमा ध्यान दिनुपर्ने बताए।
सभापति पोखरेलले लेखा समितिको निर्णयलाई आवश्यक छलफलबाट समाधान गर्न सकिने उल्लेख गरे। “व्यवसायीहरूले लेखा समितिको निर्णयबारे छलफल गर्नुपर्नेमा आर्थिक समितिमा पुगेको देखिन्छ,” पोखरेलले भने, “समितिमा निवेदन परेपछि छलफल गरिन्छ।”
उनले हाल केही डुबेका कम्पनीहरूले समेत आईपीओ जारी गरिरहेको भन्दै लेखा समितिले विभिन्न ट्रेन्डको अध्ययन गरेर निर्णय लिएको स्पष्ट पारे। “सबै कम्पनीलाई एउटै श्रेणीमा राख्न मिल्दैन, तर हाम्रो निर्णय ऋण नतिर्दासम्म प्रवर्द्धक (प्रमोटर) लगानीकर्ता बाहिरिनु हुँदैन भन्ने आधारमा गरिएको हो,”पोखरेलले भने।
उनले स्थानीयलाई १० प्रतिशत सेयर दिने व्यवस्था ऋणको भार सराइने प्रक्रिया हो वा मुनाफा बाँडफाँड भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। लेखा समितिले यस्ता विषयलाई गम्भीर रूपमा अध्ययन गरेर मात्र निर्णय लिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्