उर्जामन्त्री खड्काको दाबीः दश वर्षमा थप २५ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गर्दैछौँ


काठमाडाैँ ।उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरूप काम गरिरहेको बताएका हुन् ।

उनले आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको बताए ।

उनले १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गरे । उनले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताए । उनले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरे ।