काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक तथा शैक्षिक सुरक्षाको प्रत्याभूति खोज्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै डा. वाग्लेले ओडिसास्थित केआईआईटी विश्वविद्यालय, भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्र संयन्त्र ढिलो परिचालन भएको आरोप लगाए । उनले समयमै आवश्यक पहल गर्न नसक्दा नेपाली विद्यार्थीहरू बिचल्लीमा परेको बताए ।
“ओडिसामा नेपाली विद्यार्थीमाथि दुर्व्यवहारको श्रृंखला नै चल्यो। पहिलो विज्ञप्ति नै सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय छोडेर नेपाल फर्कनू भन्ने आयो। त्यसैले समयको महत्व अत्यन्तै थियो। हामीले संसद खुल्नासाथ परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए सयौं विद्यार्थीहरूको बिचल्ली हुने थिएन,” उनले भने ।
उनले भारत सरकारलाई कूटनीतिक च्यानलमार्फत सत्यतथ्य छानबिन गर्न आग्रह गर्नुपर्ने बताए । साथै, विद्यार्थीहरूको भौतिक तथा शैक्षिक सुरक्षाको प्रत्याभूति खोज्न र न्याय तथा क्षतिपूर्तिका लागि निरन्तर कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए। “विज्ञप्ति जारी गर्दैमा जिम्मेवारी पूरा भएको मान्न सकिँदैन,” उनले थपे ।
डा. वाग्लेले यस्ता संवेदनशील घटनामा संसदको भूमिका अझै प्रभावकारी हुनुपर्ने धारणा राख्दै भविष्यमा परराष्ट्र नीति थप सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया दिनुहोस्