काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँ क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र सहज बनाउन आजदेखि एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। यस निर्णयले यातायातका समस्यालाई केही हदसम्म कम गर्न र आवागमनलाई थप सुधार गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यस नयाँ व्यवस्था अनुसार, थटु मार्गबाट वडा नम्बर ५ को कार्यालय, भिमसेन मार्ग, हात्ति महाँकाल मार्ग र हाँडीगाउँ मार्गतर्फ मात्र सवारी साधनको प्रवेश हुनेछ। विशालनगर तर्फबाट आउने सवारी साधनलाई भिमसेन मार्ग हुँदै वडा नं। ५ कार्यालयतर्फ जान निषेध गरिएको छ। यस्ता सवारी साधनलाई हात्ति महाँकालतर्फ मात्र जान अनुमति दिइनेछ। हाँडीगाउँबाट ढुगेधारातर्फ सोझो प्रवेश निषेध गरिनेछ र यी सवारी साधनलाई थटु मार्गतर्फ पठाइनेछ।
नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनलाई वडा नम्बर ५ कार्यालयबाट थटु मार्गतर्फ जान निषेध गरिएको छ। यस्ता सवारी साधनलाई भिमसेन मार्गतर्फ मात्र जाने अनुमति दिइनेछ। यसैगरी, ढुगेधाराबाट हात्ति महाँकालतर्फको प्रवेश निषेध गरिएको छ र वडा नम्बर ५ को कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फको प्रवेश पनि निषेध गरिएको छ।
बालमन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फ मात्र जान अनुमति दिइनेछ र टंगालबाट प्रवेश निषेध हुनेछ। यस नयाँ यातायात व्यवस्थाले क्षेत्रीय यातायातमा सुधार ल्याउने र सडक सुरक्षामा वृद्धि गर्ने अपेक्षा गरिएको छ। सडकका प्रयोगकर्ताहरूलाई नयाँ मार्गसम्बन्धी जानकारी राख्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्