काठमाडाैँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम (टिभिइटी) लाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य आवश्यक भएको बताएका छन् ।
ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका कार्यक्रमहरूलाई सफल बनाउन सबै निजी क्षेत्रहरुलाई सहकार्य एवं सहकार्य गर्न आह्वान समेत गरेका हुन्। उनले टिभिइटीलाई सफल बनाई उद्योगको मागअनुसार सीपयुक्त जनशक्ति विकास गर्न सकेमात्र नेपालको श्रम बजारलाई प्रतिष्पर्धी बनाउन सकिने बताए।
प्राविधिक एवं औद्योगिक तालिमहरुको सफल कार्यान्वयन गर्नसके उद्योगको आवश्यकताअनुसार सीप विकास गरी रोजगारीका अवसरहरु सिर्जना गर्दै समग्र आर्थिक विकासका योगदानमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल उद्योग परिसंघले रोजगारदाताहरुको सहयोगमा श्रम बजार सचिवालय निर्माण गरी काम गरिरहेको दाबी गरे । उनले परिसंघले शिक्षा र रोजगारमा रहेको खाडल न्युनिकरण गर्न विभिन्न विश्वविद्यालयहरूसँग सम्झौता गरेको उल्लेख गर्दै यसले नेपालको औद्योगिक एवं शैक्षिक क्षेत्रको पारस्परिक विकासमा सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकमा विद्यालय शिक्षालाई व्यवसायिक एवं प्रविधिमैत्री बनाउने गरी काम गरिरहेको बताए । उनले अब विद्यालय तहका विद्यार्थीहरुले उद्योग क्षेत्रमा प्रवेश गर्ने खालको बनाउनुपर्ने बताए । उनले धेरै थरीका शिक्षक भएको कारण समेत व्यवसायिक शिक्षा प्रभावकारी हुन नसकेको बताए । उनले अब अस्थायी, स्थायी र दक्ष गरी तीन शिक्षक मात्र हुनुपर्ने धारणा राखे । उनले डिग्री हाँसिल गरेका नभई पेसागत दक्षता भएका शिक्षक नियुक्त गर्नुपर्ने र उसलाई आवश्यक सर्टिफिकेट सरकारले दिनेगरी व्यवस्था गर्नुपर्ने बताए ।
व्यवसायिक तथा प्राविधिक शिक्षा र तालिमलाई संसदबाट निर्मित ऐनमा निर्दिष्ट काम, कर्तव्य र अधिकारसहित निजी क्षेत्रको नेतृत्वमा सरकारसँग सहकार्य गरि संचालन गर्नुपर्नेमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्