प्रधानन्यायाधीश राउतको घोषणाः २०८२ असार मसान्तसम्म सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दा शुन्यमा झार्छौँ


काठमाडाैँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गरेका छन् ।

बिहीवार सर्वोच्च बार एशोशिएशनको ५१ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरु हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताए ।

उनले बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शुन्यमा झार्ने उल्लेख गरे । पाँच वर्ष नाघेका मुद्दाहरु समेत २०८३ सालसम्म शुन्यमा झार्ने लक्ष्य राखिएको उनकाे भनाइ छ । उनले अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गरे ।

उनले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्न समेत कानून व्यवसायीहरुलाई आग्रह गरे । आदेशप्रति आग्रह पूर्वाग्रह नराखि टिप्पणी गर्न उनकाे अनुरोध छ । 

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुसँग भएको ज्ञान र क्षमाता कानून निर्माणको क्षेत्रमा संप्रेषण हुन नसकेको बताए । उनले कानून बनाउँदा कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको उल्लेख गरे । उनले आफूसँग भएको ज्ञान, अनुभव र निपूर्णता कानून निर्माण गर्ने क्रममा लबिङ हुनुपर्ने बताए । कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल र  सहकार्य नहुँदा आवश्यकता नपर्ने कानूनहरु समेत बनेको उनकाे भनाइ छ। 

कानून लागू नगर्दै संसद र कानून व्यवसायीबीच व्यापक छलफल गर्ने परम्पराको विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।