कार दुर्घटना भएको धोबीखोलामा रिफ्लेक्टर र डोरीको सहयोगमा अस्थायी समाधान


काठमाडाैँ । सवारी साधनको सम्भावित दुर्घटना रोक्न अनामनगरस्थित धोबीखोलास्थित पुलछेउमा अस्थायी समाधान गरिएको छ ।

गत सोमवार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीवार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो । सिंहदरबार प्रहरी वृत्तका  प्रहरी वरिष्ठ उपरीक्षक गंगाप्रसाद पौडेलले दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको बताए ।

उनले स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको बताए । स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने उनको भनाइ छ । गत सोमवार उक्त स्थानबाट कार दुर्घटना भएको थियो । मानवीय क्षति नभएपनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीर रूपमा लिइएको छ ।

भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरुले आग्रह गरेका छन् ।