काठमाडौँ। दशौँ नेपाल विल्डकन इन्टरनेश्नल प्रदर्शनीको अन्तिम दिनसम्म ४५ हजारले अवलोकन गरेका छन् ।भृकुटीमण्डपमा जारी प्रदर्शनीको अन्तिम दिन आइतबार आयोजकले उक्त जानकारी दिएको हो ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जजल भट्टराईका अनुसार प्रदर्शनीमा आर्किटेक्ट, ठेकेदार, इन्जिनियर लगायतका विज्ञहरूसहित घर निर्माण तथा पुनर्निर्माण गरिरहेका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेकाे थियाे ।
“हामीले अनुमान गरेअनुसार नै सहभागिता रह्यो । दिउँसो ३ बजेसम्ममै ४० हजार अवलोकनकर्ताको उपस्थिति थियो । ईन्जिनियर, आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कन्स्ट्रक्सन कन्ट्र्याक्टर र बिल्डरहरूको सहभागिता ४० देखि ४५ प्रतिशत थियो भने ३०–३५ प्रतिशत सर्वसाधारणले आफ्ना घर निर्माण वा रिनोभेसनका लागि जानकारी लिएका छन्,”भट्टराईले भने ।
प्रदर्शनीमा सहभागी उद्योगी व्यवसायीले सोचेभन्दा राम्रो अवसर पाएको प्रतिक्रिया दिएका छन् । बेला नेपाल इन्डस्ट्रिजका सेल्स म्यानेजर प्रद्युम्न प्रधानका अनुसार प्रदर्शनीमार्फत विदेशी ग्राहकले समेत सामग्रीको माग गरेका छन् । भारतका लिंक लक प्रा.लि.का एक्सपोर्ट इन्चार्ज अमित भट्टाचार्यले आफ्नो ब्रान्डको प्रचार राम्रो भएको बताए ।
पहिलो पटक प्रदर्शनीमा सहभागी भारतको र्याम्को इण्डस्ट्रिज लिमिटेडका शंकर रोय चौधरीले सर्वसाधारणले उत्पादनप्रति चासो देखाएको बताए । एएसएपी डिजाइन्सका सेल्स म्यानेजर सरोज अधिकारीले नयाँ उत्पादनबारे जानकारी पाउने अवसर मिलेको बताए ।
तर, आयोजकका अनुसार प्रदर्शनीमा ९९ प्रतिशत उत्पादन विदेशी रहेका छन् । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न विशेष पहल गर्नुपर्ने भन्दै सरकारले यस्ता प्रदर्शनीमा स्वदेशी सामग्रीको प्रचार–प्रसार बढाउन ध्यान दिनुपर्ने आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्