आयोडिनयुक्त नुनबारे गलत प्रचार भइरहेको राष्ट्रिय उपभोक्ता मञ्चको आरोप


काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनबारे बजारमा गलत प्रचार भइरहेको आरोप लगाएका छन् । आयोडिन मन्थको अवसरमा आयोजित नुनको आपूर्ति, गुणस्तर र उपभोग सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै महर्जनले आयोडिनयुक्त नुनबारे विभिन्न एनजीओहरूले स्वास्थ्यकाे लागि हानिकारक हुने भन्दै विभिन्न ठाउँमा गलत प्रचार गरेको आरोप लगाएका हुन् ।

उनका अनुसार नेपाली जनताले परम्परागत रूपमा उपभोग गर्दै आएको ‘ओयो नुन’ एसियाभरकै उत्कृष्ट मानिन्छ, तर हाल त्यसबारे गलत धारणा फैलाउने प्रयास भइरहेको छ।

उनले सरकारका तथ्यांकलाई उद्धृत गर्दै सरकारले तोकेको भन्दा बढी मात्रामा नुन उपभोग भइरहेको बताए। “सरकारले प्रतिदिन ५ ग्राम नुन उपभोग गर्नुपर्ने जनाएको छ, तर हाल नेपालीहरूले औसत २० ग्रामसम्म नुन सेवन गरिरहेको देखिन्छ,” उनले भने।

उनले नेपालमा प्रत्येक दुई व्यक्तिमा एक जनालाई गलगाँड रोग रहेको तथ्यांक विगतमा भेटिएको उल्लेख गरे। स्वास्थ्य मन्त्रालयले सो समस्यालाई न्यूनीकरण गर्ने प्रयास गरे पनि नेपालीहरूले अझै पनि डब्लूएचओले तोकेको भन्दा बढी मात्रामा नुन सेवन गरिरहेको उनको भनाइ छ। कार्यक्रममा विभिन्न संस्थाले सहयोग प्रदान गरेको भन्दै अध्यक्ष महर्जनले धन्यवाद व्यक्त गरे।